काठमाडौँ : नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाइको व्यवस्था भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा जो जानकारी गराइएको हो ।

सिँचित जमिन कम भएकाले पनि खाद्यान्नको उत्पादन गर्न सहज अवस्था नरहेको परिषदका कार्यकारी निर्देशक डा। दिपक भण्डारीले बताए । उनले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाई, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

कार्यकारी निर्देशक भण्डारीले सिँचाइका लागि छुट्टयाएको बजेट तटबन्ध निर्माणमा खर्च हुँदा खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न नसकिएको पनि स्मरण गराए ।

उनले भने, ‘अहिले ३० प्रतिशत जग्गामा मात्रै सिँचाइ छ । सिँचाइ मन्त्रालयमा जाने पैसा सिँचाइको एरिया बढाउन होईन कि तटबन्ध निर्माणमा खर्च हुन्छ ।

यो साल तटबन्ध बनाउने अर्को साल भत्काउनमा मात्रै पैसा खर्च हुने भएकाले सिँचाइको एरिया बढाउने काममा समस्या छ । सिँचित जमिन नबढाई उत्पादन बढाउन सकिदैन । त्यसैगरी उत्पादन बढाउनका लागि मल र प्रविधिको पनि उचित व्यवस्था गर्नुपर्ने हुन्छ ।’