काठमाडौं : स्थानीय तह निर्वाचनका कारण देशभर पेट्रोलियम पदार्थको खपत उच्च दरमा बढेको छ । दलहरुको भड्किलो प्रचार र चुनावी मोटरसाइकल र्याली लगायतका कारण यही चुनावी माहोलमा नेपालमा इन्धनको खपतको नयाँ रेकर्ड नै राखेको छ ।
पेट्रोल र डिजलमा प्रतिलिटर उच्च् दरमा घाटा खेपिरहेको निगमलाई यसले थप दबाबमा पारेको छ ।
चुनावी प्रचार प्रसारका कारण दैनिक पौन ३ अर्ब रुपैयासम्मँ इन्धनमा खर्च भइरहेको नेपाल आयल निगमले जनाएको छ । जुन खपत सामान्य दिनको भन्दा निकै धेरै हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्याय चुनावी प्रचारप्रसार तीव्र हुँदै गर्दा इन्धनको खपतको पनि नयाँ कीर्तिमान बनाएको बनाएको बताउँछन् ।
१९ वैशाखमा डिजल र पेट्रोलको बिक्रीमा नयाँ रेकर्ड कायम भएको निगमले जनाएको छ । सो दिन एकैदिन १० हजार ४ सय किलोलिटर डिजल र ४ हजार ९१० किलोलिटर पेट्रोल बिक्री भएको थियो, सो दिनमा ४९५ किलोलिटर हवाइ इन्धन पनि ब्रिकी भएको निगमले जनाएको छ ।
१९ वैशाखमा पेट्रोल, डिजल र हवाइ इन्धन मात्रै २ अर्ब ८७ करोड ३६ लाख रुपैयाँ भन्दा धेरैको त्रिवmी भएको थियो ।
यस्तै २१ वैशाखमा पनि इन्धनको खपत उच्च दरमा भएको देखिन्छ । सो दिन ४ हजार ४२५ किलोलिटर पेट्रोल र ७ हजार ९८१ किलोलिटर डिजल विक्री भएको थियो ।
यस्तै ४६३ किलोलिटर हवाई इन्धन बिक्री भएको निगमले जनाएको छ ।
निगमकाअनुसार सामान्य अवस्थामा देशभर पेट्रोलको दैनिक खपत २ हजारदेखि २२ सय किलोलिटर हाराहारी हुन्छ । तर, अहिले यो दर बढेर कुनै दिन १० हजार ४ किलोलिटरसम्म पुगिरहेको छ ।
सामान्य अवस्थामा दैनिक असौत ६ हजार किलोलिटर हाराहारी बिक्ने डिजलको खपत पनि ११ हजार किलोलिटरसम्म पुगेको प्रवक्ता उपाध्यायले बताए ।
पछिल्लो एक सातामा सार्वजनिक बिदाबाहेकको चार दिनमा देशभरको कुल इन्धन ब्रिकीको तथ्याङ्कले पनि इन्धनको खपत वृद्धिलाई प्रष्ट्याउँछ ।
२२ वैशाखमा ३ हजार १७६ किलोलिटर पेट्रोल र ६ हजार १५७ किलोलिटर डिजलको बिक्री भएको थियो। हवाई इन्धनको खपत बढेर ४६६ किलोलिटरबाट ५१२ किलोलिटर थियो ।
यस्तै २३ वैशाखमा ३ हजार ५५८ किलोलिटर पेट्रोल र ७ हजार ३४१ किलोलिटर डिजल बिक्री भएको निगमले जनाएको छ । यो दिन पाँच सय किलोलिटर हाराहारी हवाइ इन्धन बिक्री भएको थियो ।
निगमका अनुसार यो महिना सामान्य खपतमै निगमलाई १० अर्ब १८ करोड घाटा लाग्ने प्रक्षेपण गरिएको छ । तर, निर्वाचनका गतिविधिले बढेको इन्धन खपतले थप चिन्तित बनाएको प्रवक्ता उपाध्ययले बताए ।
१८, वैशाख मा प्राप्त भारतीय आयल कर्पोरेसन (आईओसी) को नयाँ बिक्री मूल्यसूचीअनुसार पेट्रोल र डिजलको खरिद लागत मूल्य क्रमशः प्रतिलिटर १८३ रुपैयाँ २ पैसा र १८३ पैयाँ १३ पैसा छ । निगमले अहिले १६० रुपैयाँ लिटरमा पेट्रोल र १४३ रुपैयाँमा डिजल बिक्री गर्दै आएको छ । जसअनुसार निगमलाई पेट्रोलमा लिटरमा २३ रुपैयाँ २ पैसा र डिजेलमा प्रतिलिटर ४० रुपैयाँ १३ पैसा घाटा छ ।
‘मासिक औसत ३० अर्बको इन्धनको कारोबार हुने गरेको छ,’ प्रवक्ता उपाध्ययले भने ‘निर्वाचनले खपत थप बढ्ने देखिन्छ ।’
Discussion about this post