जनकपुरधाम । जनकपुरधाममा जनकपुर कम्मुनिटी कलेज (जेसीसी) सञ्चालनमा आएको छ । जनकपुरधाम उपमहानगरपालिका ८ रामानन्द चोकमा पूर्वाञ्चल विश्वविद्यालयबाट बीआईटीको सम्बन्धन पाएसँगै जेसीसी सञ्चालनमा आएका छन् ।
मधेशमा खस्किदै गएको प्राविधिक शिक्षालाई उकास्न सामुदायिक स्तरबाट स्थापना गरिएको जेसीसीको सञ्चालन जनकपुर कम्युनिटी डेभलोपमेन्ट फाउण्डेशन (जेसीडीएफ)ले गरेको छ । यसै शैक्षिक सत्रबाट बीआईटीको अध्ययन अध्यापन सुरु हुँदैछ । भर्ना प्रक्रिया पनि सुरु भएको क्यामप्स प्रमुख डा. सोहन साहले जानकारी दिए ।
उनका अनुसार जेसीसीले अन्य विषयहरुमा पनि सम्बन्धन पाउने प्रक्रियामा रहेको छ । मधेशमा ब्याचलर लेभेलमा एग्रिकल्चर र फोरेष्ट्री पढ्ने विद्यार्थीको संख्या अत्याधिक भए पनि मधेशमा यस्तो कलेज थिएन । विद्यार्थीको चाहनालाई पूरा गर्न जेसीसीको स्थापना गरिएको बताइएको छ ।
सामुदायिक कलेज भएकोले न्यूनतम् शुल्कमा सबै वर्गका विद्यार्थीहरुलाई पढ्ने वातावरण दिइने कलेज प्रमुख डा. साहले जनाए ।
पालिकाहरुसँग सहकार्य गरेर गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति पनि दिने तयारी भइरहेको उनले बताए । कतिपय पालिकाहरु आफ्ना पालिकाका विद्यार्थीहरुलाई जेसीसीमा पढाउन छात्रवृत्ति दिन समेत तयार भएका छन् ।
आगामी शैक्षिक सत्रदेखि एग्रिकल्चर, फोरेष्ट्री र एलएलबीसमेत अध्ययन अध्यापन सुरु हुने जानकारी दिदै प्रमुख साहले भने, ‘जेसीसी सामुदायिक प्रयासबाट चल्ने कलेज भएकोले सामुदायिक स्तरबाटै आर्थिक संकलन गरी कलेज सञ्चालन हुनेछ ।
पालिकाबाट छात्रवृत्ति र व्यवसायिक क्षेत्रबाट पनि सहयोग खोजेर न्यूनतम् शुल्कमा सबै वर्गका विद्यार्थीहरुलाई पढ्ने मौका दिइने छ ।’
Discussion about this post