जनकपुरधाम । आउँदो चैत २४ गते शनिबार हुन लागेको धनुषा निर्माण व्यावसायी सँघको नयाँ कार्य समितिको चुनावमा अध्यक्ष पदका उम्मेदवार अशोक चौधरीले पुनः अध्यक्षको जिम्मेवारी दिने दाबी गरेका छन् ।

शनिबार निर्वाचन प्रक्रियाबाट चुनिने नयाँ कार्य समितिको लागि अध्यक्ष पदका दाबेदार अशोक चौधरीले आफूलाई धनुषाका निर्माण व्यावसायीहरुले पुनः मत दिएर चयन गर्ने दाबी गरेका छन् ।

धनुषामा कुल ५९५ निर्माण व्यावसायीहरुको सदस्य रहेकोमा चौधरीले आफ्नो पछिल्ला कार्यकालको आँकलन गरेर मत दिने विश्वास व्यक्त गरे । उनले आफ्नो पछिल्लो कार्यकालमा सँघको प्रशासनिक भवनदेखि लिएर व्यावसायीहरुको हकहितको लागि कडा प्रस्तुत भएको कार्य सम्पादनलाई सदस्यहरुले मूल्याँकन गर्ने बताए ।

अघिल्लो २ बर्षे कार्यकाल पूर्णतः विवादरहित भएको जनाउँदै उनले आफूँग सँघ हाँक्ने कार्यक्षमता, कार्यदक्षता र आइडियाहरु भएकोले अन्यभन्दा पनि आफूलाई चुन्नेमा विश्वस्त रहेको बताए ।

उनले भने, –“आफ्नो कार्यकालमा मैले संघको आफ्नै भवन निर्माण गराउन सफल भएको छु । महासंघमा सदस्यहरुको उपस्थिति पनि बढाएकै छु र प्रदेश सरकारको विभिन्न कार्यक्रमहरुमा, केन्द्र सरकराको विभिन्न कार्यक्रमहरुमा निर्माण व्यावसायीको सक्रियता अधिक जमाएको छु । सोही मूल्याँकन पुराना र नयाँ सदस्यहरुले गरेर मलाई मत दिनेमा विश्वस्त छु ।”

शनिबार विहान ८ः३० बजे सुरु हुने मतदान प्रक्रिया अपरान्ह ५ बजेसम्म चल्ने जनाइएको छ । अध्यक्ष पदको लागि ४ जनाको उम्मेदवारी परेको उनले जनाए । अशोक चौधरी अर्जुन कन्स्ट्रक्सनका सँचालक हुन ।