विराटनगर । विराटनगरको जोगवनी नाकावाट तस्करी बढेको छ ।

यसैक्रममा बिलबिजक भन्दा बढी सामान बोकेर न्यून मूल्यांकन गराएर भन्सारवाट छुटेका दुईवटा ट्रकलाई मोरङ प्रहरीले बुधवार नियन्त्रणमा लिएर अनुसन्धानकालागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको छ ।

ति दुई ट्रकमा बिलबिजक भन्दा एक करोड ३५ लाख मूल्यका बढी सामान बरामद भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्र वहादुर बस्नेतले बताए ।

विराटनगर भन्सारवाट चेकजाँच गरेर छुटेर बजारतर्फ आउदै गरेका प्र १–०२–००२ ख ०४१६ र ना ४ ख ८८४७ नम्बरको ट्रक र तिनका चालकद्धोय विराटनगर १९ का ललित सरदार र कानेपोखरीका दुखनलाल चौधरी सहित प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानकालागि राजस्व अनुसन्धान कार्यालयलाई बुझाएको छ ।

प्रहरी प्रवक्ता बस्नेतका अनुसार प्रहरीले नियन्त्रणमा लिएका ति दुई ट्रकमा घरायशी तथा भान्सामा प्रयोग हुने सामान सहित कृषि प्रयोजनमा प्रयोग हुने एक करोड ३५ लाख मूल्यका सामान वरामद भएको छ ।

ति सामानको आयातकर्ता भने प्रहरीले खुलाएको छैन ।
ईलाका प्रहरी कार्यालय रानी र बोर्डर आउट पोष्ट रानीका प्रहरीकै मिलोमतोमा जोगवनी नाकावाट व्यापक तस्करीको लाइन बढेको खुलेको छ।

जोगवनी नाका मोरङ जिल्लाको सबै भन्दा ठुलो तस्करी हुने नाका रहेको छ ।

मोरङ जिल्लाको बिभिन्न नाकाबाट तस्करी गर्ने गिरोहहरु हाल जोगमनी नाका हुदै आफ्नो अवैध धन्दालाई तिब्रता दिन सफल भएका छन ।

सीमा सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरीले पनि सीमा नाकालाई कमाई खाने भाडोको रुपमा प्रयोग गर्दै आएको छ ।

स्थानीयका अनुसार सशस्त्र प्रहरीले घुमुवाको माध्यमले तस्करीका रकम उठाउने गरेको छ भने नेपाल प्रहरीले पोशाकमै टोली परिचालन गरी अवैध धन्दाको रकम उठाउने गरेको बताए ।

उक्त नाकाबाट सुपारी, कपडा, केराउ, चिनि लगायतको समाग्री तस्करी हुने गरेको छ । जोगवनी नाका हुदै अकबर मिया, जनार्दन, ओम, सिता लगायत ६ जनाको समुहले कपडाको तस्करी गर्ने गरेका छन भने शकर भनिनेले सुपारी र बिनोद भनिनेले मरिच र केराउको तस्करी गर्ने गरेको स्थानीय बताउछन ।

उक्त नाकामा सुरेश र सम्पम भनिने सबै भन्दा ठुलो कपडा तस्करको मुख्य नाइकेको रुपमा चिनिने गरेको स्थानीयले बताए ।