राजविराज। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले स्थानीय तहमा दलविहीन निर्वाचन हुनुपर्ने कुरामा जोड दिएका छन् ।
सप्तरीको अग्निसाईर कृष्णसबरण गाउँपालिका २ नं. वडा समितिले सीतापुरमा आयोजना गरेको विस्तारित भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताए । स्थानीय निर्वाचन अति खर्चिलो बन्दै गएका कारण पैसा खर्च गर्न नसक्ने गरिब विपन्न समूदाय निर्वाचित हुन नसक्ने भन्दै यसमा सुधार हुनु पर्ने उनको कथन छ । दलगत आधारमा गरिने निर्वाचनमा दलगत होडबाजी बढ्ने निश्चित छ ।
यस्तोमा जसरी पनि चुनाव जित्ने बरु खर्च बढी लागेपनि गर्न तयार रहने सोचका कारण निर्वाचन महँगो बन्दै गएकोमा आशंका छैन । यसरी निर्वाचन जितेर गएकाले पहिला आफूले चुनावमा गरेको खर्च असुल्नेतिर लाग्ने र जनताकालागि विकासका काम गर्नेतिर भन्दा पनि आफू व्यक्तिगत कमाईतर्फ तल्लीन रहने भएका कारण स्थानीय सरकारको लक्ष र उद्देश्य प्राप्तीमा यसले बाधा पु¥याउनेमा आशंका रहने छैन ।
जनतालाई सानातिना काममा पनि सदरमुकाम र केन्द्रसम्म धाउनु पर्ने बाध्यताई हटाएर धेरै जसो काम स्थानीय तहबाट नै सम्पादन होस् भन्ने धेयका साथ स्थानीय तहहरुलाई अधिकारसम्पन्न बनाईएको हो ।
यी तहहरुमाथि अन्य कामका साथसाथै विकास निर्माणको पनि जिम्मेवारी छ । विकास निर्माणका काम गर्न बजेटको आवश्यकता पर्छ नै ।
तर जनप्रतिनिधि आफैं कमाउनेतर्फ लागे भने जनताकालागि विकासीय काममा यसले नकारात्मक प्रभाव पुर्याउने निश्चित नै छ । तसर्थ दलगत भन्दा पनि जनप्रिय योग्य व्यक्ति जिताएर पठाउन सकिए जनताका अपेक्षा पूरा हुने तर्क पनि आफ्नो ठाउँमा छँदैछ ।
निर्वाचित जनप्रतिनिधिले जनताप्रतिको जिम्मेवारीलाई नै प्राथमिकतामा राखेर काम गर्न सके मात्र स्थानीय तहबाट स्थानीय सरकारको अनुभूति मिल्न सक्नेछ ।