जनकपुरधाम । पूर्व एसएसपी गोविन्द साहले आफ्नो पद र पहुँचको दुरुपयोग गर्दै निर्दोष व्यक्तिहरूलाई फसाउन खोजेको आरोप लागेको छ।

मिटरब्याज तथा ठगीको आरोपमा पक्राउ परेका जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, ४८ वर्षीया रेखा साह र ३२ वर्षीय हरेराम साहका आफन्तहरूले बिहीबार जनकपुरधाम जिल्ला अदालत अगाडि विरोध प्रदर्शन तथा नाराबाजी गरेका छन्।

रेखा साहका छोरा जयराम साहले पूर्व एसएसपी गोविन्द साहले आफ्नो पूर्व प्रहरी पद तथा पहुँचको प्रभाव देखाउँदै आफ्नी आमा लगायत परिवारका सदस्यलाई फसाउन खोजेको आरोप लगाएका छन्।

जयराम साहका अनुसार करिब पाँच वर्षअघि पूर्व एसएसपी गोविन्द साहले आफूले बिक्री गरेको जग्गा पुनः फिर्ता लिन खोज्दै मिटरब्याजको आरोप लगाएर आफ्नी आमा र परिवारका सदस्यलाई पक्राउ गराएको आरोप छ।

उनका अनुसार उक्त जग्गा आफूहरूले कानुनी प्रक्रिया पूरा गरी खरिद गरेका थिए। जग्गा खरिदसम्बन्धी कागजातमा पूर्व एसएसपी गोविन्द साहका छोरी र छोराको समेत मञ्जुरी तथा सनाखत रहेको कागजात आफूहरूसँग सुरक्षित रहेको जयरामले बताएका छन्।

जयरामका अनुसार पाँच वर्षअघि बिक्री गरिएको जग्गाबाट मूल सडक निस्किएपछि बाँकी जग्गाको मूल्य बढेको थियो। त्यसपछि पाँच वर्षपछि पुनः उक्त जग्गामाथि दाबी गर्दै आफ्नी आमालाई मिटरब्याज तथा ठगीको मुद्दामा फसाइएको उनको आरोप छ।

उनले पूर्व एसएसपीजस्तो उच्च पदमा रहेका व्यक्तिले कुनै कागज नपढी हस्ताक्षर गरेको हुनसक्छ भन्ने कुरा आफूहरूलाई विश्वास गर्न कठिन भएको बताएका छन्।

जयरामले अदालतप्रति आफूहरूको पूर्ण सम्मान रहेको बताउँदै निष्पक्ष न्यायको अपेक्षा गरेको बताएका छन्। साथै, २५ दिनभन्दा बढी समयदेखि हिरासतमा राखिएपछि पनि पटक–पटक म्याद थप गरी थुनामा राख्ने प्रयासप्रति उनले आपत्ति जनाएका छन्।

उनले अदालतबाहिर रहेर कानुनी प्रक्रिया पूरा गर्न सक्ने वातावरण निर्माण गरिदिनसमेत सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

समाचारका अनुसार, पूर्व एसएसपी गोविन्द साहले २०७९ सालको स्थानीय निर्वाचनमा उम्मेदवारी दिनका लागि आफ्नो जग्गा रेखा साहको नाममा राखेर कागज बनाई ९९ लाख रुपैयाँ ऋण लिएको बताइएको छ।

पछि ऋणको रकम चुक्ता गरी जग्गा फिर्ता लिन खोज्दा उक्त जग्गा अरू व्यक्तिको नाममा पास भइसकेको जानकारी पाएपछि आफूहरूले मिटरब्याज तथा ठगीसम्बन्धी मुद्दा दायर गरेको पूर्व एसएसपी साहको पक्षबाट बताइएको छ।

यस विषयमा केही दिनअघि पत्रकार सम्मेलनमार्फत समेत जानकारी गराइएको थियो।