२७ मंसिर सप्तरी ।सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगमाका बेचन मुखियाको पिकअप भ्यानमा अपरिचित व्यक्तिले आगजनी गरेका छन् ।

आफ्नै घरअगाडि पार्किङ्ग गरी राखिएको स १ च १७२५ नम्बरको पिकअप भ्यानमा शनिबार बिहान आगजनी भएको मुखियाले बताएका छन् । आगजनीबाट भ्यानको अगाडीको भाग पुर्णरुपमा जलेर नष्ट भएका छन् । 

पिकअपमा पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताए । आगो स्थानियवासी, प्रहरी तथा राजविराजबाट आएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

व्यक्तिगत राजनीतिक रिसीभीका कारण पिकअपमा आगजनी गरिएको हुन सक्ने प्रहरीले बताएको छ । यसबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगजनीबाट २४ लाख बढीको क्षति भएको छ ।