जनकपुरधाम, १६ माघ, २०७७ । धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले कमला बचाउ अभियानलाई छिमेकी मुलुकसम्म विस्तार गर्नुपर्ने बताएका छन् । बिहीबार तेस्रो महाकमला स्नान र कमला आरतीको क्रममा बोल्दै मेयर बरबरियाले व्यक्ति व्यक्तिबाट प्रारम्भ गरिएको कमला बचाउ अभियान स्थानीय तह हुँदै प्रदेश सरकारसम्म गएको भन्दै अन्तर्राष्ट्रिय अभियानका रुपमा जोडनुपर्ने धारणा राखे । 

ऐतिहासिक मानिएको कमला नदी धनुषा जिल्लासहित छिमेकी राष्ट्र भारतको विहारसम्मसमेत पुगेको भन्दै उनले सिङ्गो नदीको अस्तित्व बचाउनको लागि भारतसम्मै अभियानलाई जोडनुपर्ने उनको कथन थियो । 

उनले भने, ‘यहाँ धनुषाका ५ स्थानीय तह र सिरहाका ४ स्थानीय तह गरी कुल ९ स्थानीय तहले मात्र सहयोग गरे कमला बचाउ अभियानले नयाँ उचाई पाउने निश्चित छ, तर शहीदनगर नगरपालिका र सिरहा नगरपालिकाले मात्र अहिलेसम्म बढी समन्वय गरेको छ । अन्य स्थानीय तहलेसमेत चासो लिए अभियान तीव्रता पाउनेछ ।’

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जीतेन्द्र सोनलको प्रमुख आतिथ्यमा भएको तेस्रो कमला महाआरतीमा जल संकल्प लिँदै मन्त्री सोनलले कमला बचाउ अभियानको लागि चालिएको कदमको सराहना गर्दै यहाँका स्थानीय सरकार र अभियानीहरुले देखाएको अग्रसरताको प्रशंसा गरे । 

उनले कमला बचाउ अभियानको लागि प्रदेश सरकारदेखि लिएर केन्द्र सरकारसम्मलाई ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरे । उनले धार्मिक र पौराणिक इतिहास बोकेको कमला नदीको अस्तित्व संरक्षण आवश्यक रहेको बताए । 

कमला महाआरतीमा जनता समाजवादी पार्टीका सचेतक एवम् विधायक परमेश्वर साह, समाजसेवी प्रभु दयाल जलान, अभियन्ताहरु वीरेन्द्र यादव, सुरेन्द्र यादव, राजकिशोर सल्हैता, श्याम महतो लगायत साधुसन्तहरुको सहभागीता रहेको थियो । 

शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको परिकल्पना र अठोटले नगरपालिकाको वडा नं. १ रामघाटमा प्रत्येक महिना पूर्णिमाको दिन महाकमला आरती हुँदै आएको छ ।