सुनसरी । कैद तथा जरिवाना तोकिएका ५ सय ६५ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

विभिन्न अपराधमा संलग्न भई सुनसरी जिल्ला अदालतमा पेस हुँदा सजाय र जरिवानासमेत तोकिएका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले अभियान नै चलाएको थियो  । जसअनुसार साउनयता विभिन्न अपराधमा सामेल भएका पाँच सय ६५ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए अनुसार उनीहरूबाट एक सय १९ वर्ष आठ महिना आठ दिन कैद र २६ लाख ७२ हजार नौ सय ६ रुपैयाँ जरिवाना बेरुजु फर्स्योट भएको छ । ‘अपराध गरेपछि उन्मुक्ति पाउन सकिँदैन, जति भागे पनि जति लुके पनि कानुनको नजरमा लुक्न सकिँदैन, उसको नाममा कायम भएको अभिलेख मेटिँदैन’ भन्ने सन्देश दिन फरार अपराधी पक्राउ अभियान नै चलाएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताए ।

अदालतको बेरुजु सूचीमा कैद र जरिवाना लगत देखिएका प्रतिवादीहरूलाई स्वस्पूmर्त रूपमा कानुनको सम्मान गरी आफ्नो नाममा कायम रहेको कैद भुक्तान गरी वा जरिवाना तिर्न प्रहरीले आग्रह गरेको छ ।