उदयपुर । तेजपातको उचित मूल्य नपाउँदा उदयपुरका कृषक निराश बन्न थालेका छन् ।

उदयपुर जिल्लामा लामो समयदेखि व्यावसायिकरूपमा तेजपात सिन्कौली खेती गर्दै आएका कृषकले उत्पादन गरेको तेजपात बिक्री गर्ने सिजन सुरु भएर बिक्री हुन थाले पनि मूल्यवृद्धि नहुँदा कृषक निराश बन्न थालेका हुन् ।

जिल्लामा लामो समयदेखि तेजपात उत्पादन गर्दै आएका कृषकले पाँच÷छ वर्षदेखि अहिलेसम्म पनि पुरानै बजार मूल्यमा तेजपात बिक्री गर्नु परेका कारण आफूहरूले घाटा सहेर भए पनि बाध्य भई तेजपात बिक्री गरेको गुनासो कृषकको छ । तेजपात खरिदकर्ता तथा व्यापारीले अहिले पनि विगत वर्षकै बजार भाउमा नै तेजपात खरिद गर्ने गरेको र उनीहरूले समयअनुसारको मूल्यवृद्धि गर्न नमान्दा पुरानै मूल्यमै तेजपात बिक्री गर्नुपरेका कारण आफूहरूले वर्षेनी ठूलो घाटा व्यहोर्नुपरेको रौता मुर्कुचीका देवराज मगरको गुनासो छ ।

मगर भन्छन्, “विसं २०७० मा नै आफूहरूले उत्पादन गरेको तेजपात प्रतिकिलो रु ३० देखि ५० का दरले बिक्री गरेका हौँ, सात वर्षपछि पनि उही मूल्य छ, व्यापारी तथा खरिदकर्ता मूल्यवृद्धि गर्न मान्दैनन्, यस वर्ष पनि तेजपात बिक्री हुने बेला सुरु भयो, तर मूल्यवृद्धि हुने अवस्था छैन ।”