काठमाडौँ : किसानलाई प्रोत्साहन र सुनिश्चित बचतको ग्यारेन्टी गर्न भन्दै सरकारले २०७७ असार २ मा धानको न्यूनतम समर्थन मूल्य तोक्यो । धानबाली लगाउनुअगावै पहिलो पटक मोटा धानको प्रतिक्विन्टल २७ सय ३५ र मध्यम धानको २८ सय ८५ रुपैयाँ मूल्य निर्धारण भयो ।
आर्थिक वर्ष २०७६/७७ को तुलनामा यो प्रतिक्विन्टल २ सय रुपैयाँ बढी हो तर किसानले धान बेच्ने बेला समर्थन मूल्य पाउँदैनन् । उनीहरूलाई धानको लागत उठाउनै मुस्किल परेको छ ।
सरकारी संयन्त्र गाउँगाउँमा नहुँदा सरकारले निर्धारण गरेको दरभन्दा क्विन्टलमै करिब ८ सय रुपैयाँसम्म सस्तोमा धान बेच्न किसान बाध्य छन् । कञ्चनपुरमा भदौ अन्तिमसम्म धानको मूल्य २९ सय रुपैयाँ प्रतिक्विन्टल पुगेको थियो, जब धान उत्पादन भएर कृषकले बिक्री गर्न थाले, १९ सयसम्म झर्यो । ग्रामीण भेगमा अहिले मिल सञ्चालक तथा गल्ला खरिदकर्ताहरूले मनपरी हिसाबले मूल्य तोकेर धान खरिद गरिरहेका छन् । उनीहरूले १९ सय ५० देखि २ हजार ५० सम्ममा किनिरहेका छन् ।
कञ्चनपुरको वेदकोट नगरपालिका–६ मुसेपानीका रोशन चौधरीले असोज दोस्रो साता धान थ्रेसिङ गरिसकेका थिए । बिक्री गर्ने धान बोरामा हालेर ठिक्क पारेका थिए । भाउ बढ्ला र मिलमा बिक्री गर्न लैजाउँला भन्ने सोचमा उनी थिए । भाउ बढ्नेभन्दा पनि घट्न थालेपछि उनले गत वर्षभन्दा सस्तोमा धान बिक्री गरे । चौधरीले गत वर्ष प्रतिक्विन्टल २२ सयमा धान बिक्री गरेका थिए । यस पटक डेढ सय सस्तोमा धान बेचेको उनले बताए । ‘दस/पन्ध्र दिनअघि नै धान चुटिसकेको थिएँ,’ उनले भने, ‘भाउ बढ्ला भनेर कुरेको थिएँ, फेरि धेरै दिनसम्म राख्न ठाउँ पनि थिएन, अनि सस्तोमै बिक्री गरें ।’
Discussion about this post