काठमाडौँ, २८ कात्तिक (मधेश टप):- अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले नेपाल र स्वीट्जरल्याण्डबीच सधै सुखद् र असल सम्बन्ध कायम रही रहेको र असल सम्बन्धलाई आपसी विश्वास र सहकार्यको मध्यमबाट अझ गहिरो बनाउने आफ्नो प्राथमिकता रहेको विचार व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री पौडेलले कोभिड १९ ले सिर्जना गरेको चुनौती सामना गर्न विश्वव्यापी सहकार्य र एकता आवश्यक हुनुको साथै दोश्रो लहरको प्रभाव रोक्न युरोपियन मुलुकहरुले चालेका कदमहरुको प्रशंसा गर्दै स्वीस सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर सहयोगको लागि धन्यवाद दिनुभयो । राजदूत क्यापेलरले नवनियुक्त अर्थमन्त्रीलाई बधाई ज्ञापन गर्नुहुँदै नेपालको स्थायित्व र विकासका लागि अर्थमन्त्रीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विगत १० वर्षमा नेपालमा धेरै परिवर्तन संस्थागत भएको बताउनुभयो । साथै उहाँले नेपालका प्रधानमन्त्रीले सार्नु भएको दूरदृष्टि तथा वर्तमान सरकारको प्राथमिकता अनुरुपका विकास क्रियाकलापहरुमा स्वीस सरकारको सहयोग एवं साथ रहने उल्लेख गर्नुभयो ।
उक्त शिष्टाचार भेटघाटका अवसरमा नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच स्थानीय सडक पूर्वाधार कार्यक्रमको लागि ९.८२ मिलियन स्वीस फ्र्याक ( करिव १ अर्ब २६ करोड नेपाली रुपैयाँ) को प्राविधिक सहायता परिचालन गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । सो सम्झौतामा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र स्वीट्जरल्याण्ड सरकारकातर्फबाट राजदूत क्यापेलरले हस्ताक्षर गर्नुभएको अर्थमन्त्रालयले जनाएको छ ।
Discussion about this post