धनुषा : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले तराई मधेशलाई कृषि क्षेत्रको विकास मार्फत समृद्ध बनाउनका लागि प्रदेश २ सरकारले सिंचाई क्षेत्रको विकासमा गरिरहेको योगदानको सराहना गर्नु भएको छ ।
धनुषाको नगराईन नगरपालिकाको फूलगामामा रहेको मनियारी सिञ्चाई योजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले यस प्रदेशका अधिकांश जनता कृषिमा निर्भर रहेकाले सिंचाईको अभावमा निक्कै समस्यामा रहने गरेकाले सिंचाईमा जोड दिन जरुरी रहेको बताउनु भयो ।
उहाँले खेत खेतमा सिञ्चाई तथा हातहातमा रोजगार भन्ने नारालाई विभिन्न जिल्लामा नयाँ सिञ्चाई योजनाहरुको शुभारम्भ गरेर सार्थक बनाउने अभियानमा प्रदेश सरकार लागेकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश २ का ८५ प्रतिशत जनता कृषि पेशा मै निर्भर रहेकोले खेतमा हरियाली नआएसम्म किसानको अनुहारमा खुशीयाली आउन नसक्ने भएको हुँदा प्रदेश सरकारले सिञ्चाईमा जोड दिएको बताउनु भयो ।
उहाँले सिंचाई, मल, खाद्यको अभावमा किसानहरु पीडित हुदै आएकाले नै प्रदेश सरकारले पानीका साना साना श्रोतहरुको सही व्यवस्थापन गरेर जनताको खेतखेतमा सिंचाई सेवा पुर्याउने गरी कार्य अगाडी बढाएको बताउनु भयो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले किसानको अनुहारलाई उज्यालो बनाउनका लागि कृषिमा सुधार एवं विकास आवश्यक भएको बताउनु भयो ।
कार्यक्रममा प्रदेश नंं २ का प्रदेश सभाका सदस्य परमेश्वर साह, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरु राजु चौधरी, ज्ञानेन्द्र झा, मनोज चौधरी सहितका वक्ताहरुले प्रदेश सरकारले कृषि क्षेत्रको विकासका लागि गरेको योगदानको सराहना गर्नुभयो ।
प्रदेश नंं २ सरकारको जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय जनकपुरको रेखदेखमा १७ करोडको लागतमा दुई वर्षमा उक्त सिञ्चाई योजना सम्पन्न गर्ने कार्यक्रम रहेको सिनियर डिभिजनल ईन्जिनियर भगवान झाले जानकारी दिनु भयो ।
सिञ्चाई योजनाको निर्माण सम्पन्न भएपछि सो क्षेत्रका ५ सय ५० हेक्टर क्षेत्रफलमा बाह्र महिना नै सिञ्चाई सेवा पुग्ने सिडिई झाले बताउनु भयो ।
Discussion about this post