काठमाडौं । भारतीय सेनामा मधेशी युवाहरु पनि भर्ती हुन पाउने भएका छन् । भारत सरकारको रक्षा मन्त्रालयले सन् २०२०–२१ को भारतीय सेना गोर्खा रेजिमेन्टको भर्ना छनौटमा मधेशी जिल्लाका युवाहरुलाई पनि समावेश गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय अनुसार विज्ञापन पनि जारी भएको जनाइएको छ । यसअघि भारतीय सेनामा नेपालका पहाडी मुलका युवाहरु मात्र समावेश हुँदै आएका थिए ।अमेरिकाको न्यूजर्सी राज्यमा रहेको मधेश मानवाधिकार(मधुर)ले भारतीय सेनामा मधेशी युवाहरुलाई पनि समावेश गर्नु पर्ने माग गरेका थिए ।
मधुरका संयोजक डा.चन्दन सिंहका अनुसार दशकौं पुरानो भेदभाव अन्त्य गर्दै मधेशी समुदायलाई समान अवसर प्रदान गर्न भारत सरकारले उठाएको कदम सकारात्मक रहेको छ ।‘हामी आशा गर्दछौं कि मधेशी समुदायका युवाहरूले यस अवसरको ठूलो उपयोग गर्नेछन् ।’ डा.सिंहले भने, ‘यसले मधेश र भारतबीच रणनीतिक र दुर्लभ सम्बन्धलाई अझ मजबुत बनाउनेछ ।’
मधुरका सदस्य वन्दना महतोले भविष्यमा भारत सरकार, रक्षा मन्त्रालयले मधेशका लागि छुटै मधेशी रेजिमेन्टको व्यवस्था गर्न अनुरोध गरिन् । ब्रिटिश गोर्खा रेजिमेन्टमा पनि मधेशी युवाहरुलाई समावेश गर्न पहल भइरहेको मधुरका सचिव सशांक गुप्ताले जानकारी दिए ।
Discussion about this post