लघुकथा :

—कडा अनुशासन भएको परिवारमा हुर्केकी विजया, राम्री त हो तर उनको आँखा चार हुने संजोग जुरे जस्तो लागेन उनलाई | ठीक २५ वर्षकी –आफ्नो अभिभावकको छनोट अनुसारको एक युवा हेर्न आयो –सरल र हेर्दा पनि असल लाग्ने पात्र, दोहोरो संवादपछि उनले “नाइ” भन्न सकिनन् —भनेर पनि केही नहुने अवस्था थियो —पिताश्रीको निर्णय पत्थरको अक्षर –घरमा उनको बुवा बोलेपछि सकियो | ११ दिनपछि जुर्यो साइत | सहेलीहरूले गिज्याउन थाले | “अमेरिका गएपछि त हामीलाई बिर्सिने त होला !” कुमारी जयाको गुनासो |

“ओई विजया, मनमा कस्तो लागेको छ ? अर्को साल त काखमा ……” लताले पनि बाँकी राखिन | “हतार नगर है काली !” नेहाको सुझाव व्यावहारिक थियो | “आम्मोई —सुहाग रात !!” सिनेमामा मात्र सुहाग रातको अभिनय देखेकी कमला –कुमारी ऊ पनि |

—-आखिर डोली होइन, कार चढी विजया, औसत नेपाली चेलीजस्तै विदा ……हजूर बासित बढी लगाव ! ८५ वर्षीय हजूरबाको लाठी ! यहीनेर गाह्रो भयो | मन बुझाएर अब कर्म घरतिर | ७ घन्टा सफर | शालीन बंगला | आवश्यक संस्कार पूरा गरेर उनी जीवन बिताउने मन्दिरमा प्रवेश गरिन | “हाम्री कान्छी छोरीलाई हाम्रो मन्दिरमा स्वागत छ !” ससुरा बा —एक खुला दिलका अभिभावक –नयाँ | ढोग भेटपछि खाना, आराम र …….यसपछि सातो गयो विजयाको | राम्रोसित डेकोरेट गरिएको कोठा –पलंग ! हररर अत्तर ……….”अब के हुन्छ ?” जीवनको पहिलो अनुभव |” के सहेलीहरूले कल्पना गरे जस्तै उनी बाघ र म हरिन हूँ ?” “के पुरुष फिल्ममा देखिने खलनायक जस्तै हुने हो ? के भीसा लाग्यो भन्दैमा हाम्रो कोमल भूगोलमा भ्रमण गर्न हतार गर्नुपर्दछ ? के नारीको पनि मनको चाहनाको कुनै मूल्य हुन्न र ? के हामी भोग्या नै हो ? दासी हूँ म ? उठ भने उठ र बस भने बस ? हेराैं यी पात्रको ज्ञान –बुद्धि र विवेक | आखिर प्रोफेसरपुत्र हुन, केही संस्कार त होला नि ! मेरो मनको बाघले नै ………..”

“विजया, तिमी थाकेकी छौ, म पनि हिजोदेखिको अनिदो | कपडा फेर र सुत | असजिलो होला, म लो बेडमा …..मेरो पनि एक्लो निदाउने आदत छ …..ओके …..गुड नाईट विजया !” यति भनेर दुलाहा अर्थात आलोक सिरकभित्र पस्यो | १२ मिनेटमा घूर्न थाल्यो | “यू आर रियल्ली ग्रेट मेरो जीवनसाथी !” पहिलोपटक एक नयाँ मानिसको लागि उनको मनमा पहिले सम्मान र पछि मायाँ पलायो | “पिताश्री, हजुरको छनोटमा कुनै खोट छैन |” आफ्नो जन्मदातालाई सम्झिन पुगिन् |