नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बलात्कार मुद्दा दर्ता भएको छ ।

नाबालिगले दिएको जाहेरीको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले बिहीवार शाहविरुद्ध मुद्धा दर्ता गरेको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको हो ।

१८ वर्षमुनिका बालिकासँग राजीखुसीमा शारीरिक सम्बन्ध राखे पनि जबर्जस्ती करणी हुने व्यवस्था भएकाले सरकारी वकिलले १२ देखि १४ वर्ष सजाय माग दाबी गर्दै शाहविरुद्ध मुद्धा दर्ता गरेको न्यायाधिवक्ता नेपालीले जानकारी दिए ।

फागुन ११ गते नाबालिगले शाहविरुद्ध तनहुँ प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका पल शाहसँग अहिले तनहुँ प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।