जनकपुरधाम । नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको संयुक्त बैठक भारतको विहार राज्यको मधुबन्नी जिल्लाको शौराठमा आज सम्पन्न भएको छ ।
जिल्ला स्तरीय सीमा समन्वय बैठकमा सीमा क्षेत्रबाट हुने गरेको लागु औषधको ओसार पसार नियन्त्रणमा थप कडाइ गर्ने, सीमा क्षेत्रबाट हुने गरेका अन्य आपराधिक गतिविधि कडाइका साथ नियन्त्रण गर्ने, सिमानामा दुवै देशका सुरक्षा गस्ती बढाउने निर्णय भएको छ ।
यसका साथै सीमा क्षेत्रमा हराएका सीमा स्तम्भको पुर्न निर्माणका लागि संयुक्त सर्भेका लागि केन्द्रमा लेखि पठाउने, भत्केका सीमा स्तम्भहरूको पुनः निर्माण गर्ने, नेपाल तर्फ हुने गरेको नक्कली नोटको कारोबार एवं ओसारपसारमा कडाइ गर्ने वा हुन नदिने, एक ठाउँमा अपराध गरेर सीमावर्ती क्षेत्रमा भागेर लुकी बस्नेको विषयमा सूचना आदान प्रदान गर्ने सहमति भएको छ ।
यसका साथै सीमा क्षेत्रबाट हुने चोरी पैठारी सहितको विषयमा कडाइ गर्ने र सीमा क्षेत्रका अन्य कुनै समस्या आएको खण्डमा मिलेर समाधान गर्ने सहमति भएको नेपाली टोलीका नेतृत्व गर्नुभएका धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।
दुवै देशका संयुक्त सीमा सुरक्षा अधिकारीको बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी रहनुभएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो । भारतीय पक्षको नेतृत्व मधुबन्नी जिल्लाका डिएम अरविन्द कुमारले गर्नुभएको थियो ।
Discussion about this post