जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा नियम निष्ठापूर्वक आज चौरचन पर्व मनाइदैछ ।
प्रत्येक वर्ष भाद्र शुक्लपक्ष चतुर्थी तिथिका चन्द्रमा तथा गणेशको पूजा पाठ गरेर पर्व मनाउने चलन रहेको छ । यस दिन चन्द्रमाको पूजापाठ गर्नाले सबै प्रकारको मिथ्या आरोपबाट मुक्ति पाउने जनविश्वास रही आएको छ ।

यस दिन घरका मूल व्यक्तिले दिन भरि निराहार बसेर साँझ स्नान गरि नयाँ वस्त्र धारण गरेर चन्द्रमाको विधि पूर्वक पूजा गरेर पर्व मनाउने चलन रहेको छ । मिथिलाञ्चल सहित तराई मधेशमा मानवलाई प्रत्यक्ष लाभ दिने चन्द्रमाको भाद्र शुक्ल पक्षमा र सूर्यको कार्तिक शुक्ल पक्षमा विधिपूर्वक पूजा गर्ने चलन रहेको छ ।
यस पर्वमा घरमा तयार पारिएको खीर, पुरी, पिडुकीया, खजुर, मिष्ठन्न, केरा, स्याउ, मकैको बाल, अकुरी, नयाँ माटोको वर्तनमा जमाइएको दही, नरिवल सहितका परिकारहरू डालामा सजाई घरको छल वा आँगनमा गाईको गोबरले लिपपोत गरेर त्यसमाथि अरिपन बनाई राखेर भगवान् चन्द्रमाको विधिपूर्वक पूजा गरेर घरका सबै सदस्य एक एक गरी सबै सामाग्री लिएर चन्द्रमाको दर्शन गर्ने चलन रहेको छ ।

चन्द्रमाको विधिपूर्वक पूजा गरिसकेपछि प्रसादको रुपमा वितरण गर्ने र व्रती आफैँले पनि खाने चलन रहेको छ । मिथिलामा यस दिन ईष्ट मित्र तथा आफन्तहरूलाई आमन्त्रण गरेर प्रसाद खुवाउने तथा कोसेलीको रुपमा दिने चलन रहेको छ ।
यस पर्वको प्रारम्भ तत्कालीन मिथिलाका नरेश हेमांगद ठाकुरले गरेका थिए । उनी नरेशका अतिरिक्त प्रख्यात ज्योतिषी समेत थिए । सोही समयदेखि मिथिलाञ्चल सहित तराई मधेशका जिल्ला जिल्लामा सुख शान्ति, समृद्धि र परिवार जनको कल्याणका लागि घर–घरमा यो पर्व मनाउन थालिएको छ ।
Discussion about this post