मधेश टप

चितवन ४ असार: नारायणगढ-मुग्लिन सडक खण्डमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंँदा प्रहरी उपरीक्षक (एसपी)सहित ६ प्रहरी घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारी सवार गाडी आज गाईघाटमा दुर्घटना भएको छ । दुर्घटनामा परी एसपी अधिकारीसहित ६ जना प्रहरी समेत घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जादै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले जिल्ला प्रहरी कार्यालय चितवनको एसपी सवार बा २ ज ३४७२ नम्बरको जीपलाई ठक्कर दिदाँ एसपीसहित ६ जना प्रहरी टोली घाइते भएका हुन् ।

गाईघाटमा माल बाहक ट्रकको ठक्करबाट एसपी अधिकारीसहित ६ जना घाइते भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले जानकारी दिए ।

‘हामी मनसुन सुरु भएकोले विभिन्न ठाँउमा आफै सुरक्षा टोलीसहित निरीक्षण गर्ने अभियानमै थियौँ । मुग्लिन सडक र मुग्लिन पुलको अवस्थामा निरीक्षण गरेर फर्किदै थियौँ’, सिडिओ लामिछानेले भने, ‘एसपी साबको गाडी अगाडी थियो, एक्कासि ट्रकले हान्यो, धन्य केही भएन । हाम्रो अन्य टोलीलाई पनि केही भएन ।’

घाइते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

बाँकी ५ जना प्रहरीहरुको समेत कतै टाउको त कतै हातमा चोट लागेको छ । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।