जनकपुरधाम २८ जेष्ठ 

मधेश टप: धनुषाको मुखियापट्टी मुसहरनियाँमा आज पाँचजना बालिकाहरुको पोखरीमा डुबेर मृत्यु भएको घटना प्रति नेपाल सरकारको उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले शोक सहित सम्बेदना प्रकट गरेका छन् ।

घटना उपप्रधानमन्त्री महतो निर्वाचित धनुषाको निर्वाचन क्षेत्र नं. ३ भित्र पर्ने मुखियापट्टी मुसहरनियाँको हो ।

उपप्रधानमन्त्री महतो द्वारा जारी शोक सन्देशमा मुखियापट्टी मुसहरनियाँको लक्ष्मीपुर गाउँमा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको घटनाले आफूलाई मर्माहत तुल्याएको र यो घटना अत्यन्त दुःखद भएको उल्लेख गरिएको छ ।

शोक सन्देशमा उपप्रधानमन्त्री महतोले दुर्घटना बारे थाह पाए लगतै आफूले धनुषाका प्रमुख जिल्ला अधिकारी संग सम्पर्क गरेर घटनाको सत्य तत्थय विवरण जानकारी गराउन र उचित क्षतिपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएको उल्लेख गरिएको छ ।
उपप्रधानमन्त्री महतोले अबोध बालबालिकाको आत्माको चिर शान्तिको काम गर्दै पीडित परिवार प्रति गहिरो सम्बेदना प्रकट गरेका छन् ।

मुखियापट्टि मुसहरनीया ६ लक्ष्मीपुरमा आज दिउँसो पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको हो । स्थानीय हुलास यादवले निर्माण गरेको माछापोखरीमा नुहाउने क्रममा ५ बालिकाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चाँदनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले बालिकाहरु बाख्रा चराउन गएको बेला पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको बताए। प्रहरीले घटनास्थल पुगेर प्रकृति मुचुल्का उठाई शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको डीएसपी मिश्रले बताए।