काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम भइरहेको जानकारी दिनुभयो । उहाँले नतिजामा प्राविधिक रूपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कामलाई कडाइका साथ निगरानी गरिरहेको बताउनुभयो ।

अध्यक्ष शर्माले भन्नुभयो, ‘विगतमा नतिजा सार्वजनिक भएपछि कहिले जन्म मिति, कहिले अङ्क, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भिड हुन्थ्यो, त्यसलाई मध्यनजर गर्दै बरु केही दिन नतिजा ढिला होस् तर नतिजा सार्वजनिक भएपछि सकेसम्म विद्यार्थीले विभिन्न विवरण सच्याउन फेरि धाउन नपरोस् भनेर यस पटक अलि कडाइका साथ विवरण रुजु गर्ने काम भइरहेको छ ।’

उहाँले सबै विवरण रुजु गरेर अन्तिम पटक पुनः जाँच गरेपछि आउँदो हप्ताको सुरुमै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउनुभयो । पालिका चुनावका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उहाँको भनाइ छ ।