अँध्यारोले तिरोहित
क्रमहीन जिन्दगी
क्रमबद्धको आशामा छ
निराकुल भई
नवागतको स्वागत गर्न
ह्रदय विभोर छ
धर्तीको गर्भमा
जब समयले गर्भाधान गर्नेछ
आजको क्रम भोलि अर्कै हुनेछ
नव आशाले छाती फुलाउँदै
अँध्यारोलाई हटाउन
औंला सोझो हुनेछ
त्रास, शोषण
हीनता, दीनता
जर्जर जवानी
लज्जास्पद दुर्बलता
सुनसान भयानकता
मध्यरातिसँग विद्रोह गर्नेछ
नव प्रकाशसँगै चम्किनेछ- नव नव तारा
आँधीबेरीको गर्जन सुनिँदैछ
चटयाङ पर्दैछ
क्षितिजको किनारमा
नव-नव जिन्दगी अंकुरण हुँदैछ
सम्भवतः
अवरोधको क्षय हुँदैछ
अतः संवेद
ह्रदयको सप्तरंगी फूलले
भविष्यको अभिवादन गर्दैछ
सुनिँदैछ-
अतीत
गते-गते, परा गते- स्वाहा ।
Discussion about this post