काठमाडौँ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गर्न माग उठेको छ । बोर्डकै कर्मचारी युनियनले अध्यक्ष ढुंगानाले पदीय आचरण विपरीत काम गरेको भन्दै उनलाई निलम्बन गरी कारबाही गर्न माग गरेको हो ।एक विज्ञप्ती जारी गर्दै युनियनले इमान्दारिता, कानूनी प्रावधान, आचार संहिताअनुसार गम्भीर नैतिक पतन देखिने काम अध्यक्ष ढुंगानाबाट भएको भन्दै उनलाई तत्कालै कारबाही गर्न माग गरेको हो ।बुक बिल्डिङ विधिमार्फत पहिलाेपटक सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने क्रममा रहेको सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाले आफ्नी छोरीको नाममा किनेको आरोप उनीमाथि लगाइएको छ । उनकी छोरी रेबिका ढुंगानाको नाममा भेटिनु शंकास्पद रहेको भन्दै यसको छानबिनको माग समेत उठेको छ ।युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बुक विल्डिङ मार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सो संग निहित सम्बेदनशिल जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठत अध्यक्ष तथा संचालकका रुपमा गम्भिर विचलन हो ।’यस विषयमा यही साउन १३ गते अर्थ मन्त्रालयले समेत पत्राचार गर्दै स्पष्टीकरण सोधेको थियो । तर उक्त पत्र अध्यक्ष ढुंगानाको नाममा नभएर धितोपत्र बोर्डकै नाममा पठाइएपछि यसमा पनि युनियनले आपत्ति जनाएको छ । कुनै खास व्यक्तिले गरेको बदमासीलाई समग्र संस्थाकै गल्तीको रुपमा औँल्याइनु गलत भएको युनियनको भनाइ छ ।युनियनको विज्ञप्तीमा भनिएको छ, ‘धितोपत्र ऐनको प्रारम्भिक खण्डको दफा २ परिभाषामा धितोपत्र र निष्काशन जस्ता शब्दको परिभाषाले संस्थापकलाई जारी गरिएको धितोपत्रलाई समेत जनाउने र बोर्डको कार्यक्षेत्र भित्रै पर्ने हुँदा, संचार माध्यममा आएका बिषयले बोर्ड अध्यक्षको इमान्दारिता, कानूनी प्रावधान, आचार संहिताअनुसार गम्भीर नैतिक पतन भएको देखिएको हुँदा, करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै देशको कूल ग्राहस्थ उत्पादन बराबरको बजार पूँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दै पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन, उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गर्न माग गर्दछौँ ।’
अर्थ मन्त्रालयले स्पष्टिकरण सोधेपछि आफूलाई जोगाइदिन भन्दै पछिल्ला दिनमा ढुंगाना शक्तिकेन्द्र धाउन थालेका छन् । साधारण सेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा किनेका अध्यक्ष ढुंगाना पद जोगाउनको लागि राजनीतिक लबिङमा लागेर गल्तीमाथि गल्ती गरिरहेका छन् ।ढुंगानाले केही दिन पहिले कुनै सम्बन्ध नै नभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग भेटघाट गरेका थिए ।बुक बिल्डिङबाट साधारण सेयर बिक्री गर्ने प्रक्रिया सुरु गरेपछि सर्वोत्तम सिमेन्टको सेयर धितोपत्र बोर्ड अध्यक्ष ढुंगानाको छोरीको नाममा किनिएको भेटिएको थियो ।
त्यसबारेमा चौतर्फी आलोचना भएपछि तालुकदार मन्त्रालय अर्थले अस्पष्ट भाषामा बोर्डलाई स्पष्टिकरण सोधेको छ । धितोपत्र बोर्ड अध्यक्ष ढुंगानाले आफ्नो छोरीले कानूनअनुसार सेयर किनेको दाबी गरेका छन् ।सर्वोत्तम सिमेन्टका अध्यक्ष बिष्णु न्यौपानेले धितोपत्र बोर्ड अध्यक्ष ढुंगानाको छोरीको नाममा सेयर किनिएको भन्दैमा आफूले फाइदा उठाउन खोजेको भन्नु गलत भएको र यो विषय कानून अनुसार भएको हुँदा यो विषय उचाल्न जरुरी नभएको दावी गर्दै आएका छन् ।अर्थमन्त्रालयले धितोपत्र बोर्ड अध्यक्ष र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको श्रीमतीले सेयर किनेको विषयमा भने व्यक्तिगत रुपमा नभएर संस्थागत छानबिन गर्ने खालको विज्ञप्ती जारी गरेको छ ।साधारण सेयर निष्कासन हुने भएपछि छोरीको नाममा सर्वोत्तमको सेयर किनेपछि बोर्ड अध्यक्ष ढुंगाना विवादमा परेका छन् । बोर्ड अध्यक्ष ढुंगानासँगै नेपालमा पहिलो पटक बुक बिल्डिङबाट ल्याउन लागेको आइपीओ समेत विवादमा परेको छ ।ढुंगाना केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७६ साल पुसमा धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।नेपाल राष्ट्र बैंकबाट अवकाश पाएपछि ढुंगानालाई राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा अध्यक्षमा नियुक्त गरिएको थियो ।नेपाल धितोपत्र बोर्डको बोर्ड सदस्यको आचारसंहिता २०७४ अनुसार बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफनो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलपामा संलग्न हुनु हुँदैन भन्ने व्यवस्था छ ।