नदि नभएको हैन किनार नभएको हैन
कुनैबेला तिमीसंग प्यार नभएको हैन

के कुरामा चित्त नबुझेर सम्बन्ध बिगार्यौ?
म तिम्रो भनाई अनुसार नभएको हैन

मन बुझ्ने मान्छेले सम्वन्ध बचाईदिन्छ
आफैबाट गल्ती बारम्बार नभएको हैन

सुनेन अवला नारीको कुरा कहिल्यै सुनेन
यो देशमा बहुमतको सरकार नभएको हैन

कसम खाएको सधैँ साथ दिन्छु भनेर हो
छुट्न सकिने विकल्प हजार नभएको हैन

✍️बविता भुजेल , खोटाङ
हाल- बिराटनगर मोरङ