जनकपुरधाम १९ जेष्ठ (मधेश टप): राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएको आज सोमबार १९ वर्ष पूरा भएको छ ।

२०५८ साल आजैका दिन अर्थात् जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित उनका सबै सदस्यको हत्या भएको थियो । गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमार धीरेन्द्र शाहको हत्या भएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए । जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रूपमा लिने गरिन्छ । घटनाको छानबिन गर्न तत्कालीन सरकारले गठन गरेको समितिले तयार पारेको प्रतिवेदनले गोलीकाण्ड तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेको थियो ।

तर यसलाई धेरैले पत्याएका छैनन् । अहिलेसम्म त्यो हत्याकाण्ड कसले र किन गर्यो भन्ने वास्तविकता अझै रहस्यकै गर्भमा छ ।

वीरेन्द्रको वंश नाशपछि ज्ञानेन्द्र शाहले सम्हालेपछि राजतन्त्र धेरै समय टिक्न सकेन । ज्ञानेन्द्र शाह नै नेपालको अन्तिम राजा बने । माओवादी शसस्त्र युद्ध र ६२/६३ को जनआन्दोलनपछि नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो ।