काठमाडौं । बैदेशिक रोजगार विभागमा घुसखोरीले सीमा नाघेको छ । बैदेशिक रोजगार विभागका कम्प्युटर अपे्रटरदेखि निर्देशकसम्म सेटिङमा चल्ने गरेका छन् । शाखा अधिकृत कमल गौतम र उपसचिव राजेश गौतमले विभागमा घुस आतंक नै मच्चाएका छन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमकै संरक्षणमा विभागमा घुसखोरी मौलाएको छ । सचिव गौतमको आडभरोसामा बैदेशिक रोजगार विभागका कम्प्युटर अपे्रटरदेखि निर्देशकसम्म सेटिङमा चल्ने गरेका छन् । कोरोना कहरले ब्यवसायी घर न घाटको अवस्थामा पुगेको बेलामा घुसखोरीले सीमा नाघेको छ । कम्प्युटर अप्रेटरदेखि अधिकृत र निर्देशकसम्मको सेटिङ सचिव गौतमले नै गरेका छन् । र, हरेक बेलुका घुस बुझ्न सचिव गौतम आफैं सशरीर जाने गरेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पुगेको छ ।अख्तियारले सचिव गौतमसहित अधिकृत कमल गौतम र उपसचिव राजेश गौतमलाई पनि निरन्तर निगरानी गरिरहेको छ । श्रम मन्त्रालयका एक अधिकारीले भने । कुनै पनि दिन नेपाल सरकारका सचिव नै घुससहित रंगेहात पक्राउ परेको समाचार आए अचम्म नमाने हुन्छ ।
त्यसो त गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा पोखरामा काण्ड लागेपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेका थिए । होटलबाटै उनी पक्राउ परेका थिए । सचिव भएको खुलेपछि प्रहरीले उनलाई छाडेको थियो । उनीसँगै संघीय मामिला मन्त्रालयको परिचयपत्र बाहक कार्यालय सहयोगी पनि पक्राउ परेका थिए । सांस्कृतिक बिचलनको यो प्रकरणमा विशिष्ट श्रेणीकै कर्मचारी नियन्त्रणमा परेको सूचना ओलीको कानमा पुगेपछि उनलाई २०७७ कात्तिक ३ मा सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको थियो । तीन महिनापछि एमाले मोरङका नेता विनोद ढकाललाई प्रभावमा पारी उनी पुनः श्रम मन्त्रालयमा सरुवा भएका थिए ।श्रममा सरुवा भएपछि उनको ध्याउन्न नै कमाउधन्दामा केन्द्रित छ । संघीय मामिलामा हुँदा पनि सहसचिव बिष्णु कोइरालाहरुसँग खानपिनमै बढी केन्द्रित रहेका गौतमले आफ्नै श्रीमतीलाई लोकसेवा आयोगबाट प्रश्नपत्र आउट गरी विद्यालय निरीक्षक पास गराएको आरोप लागेको थियो ।
शिक्षा सेवामा हुँदा तत्कालीन एसएलसी परीक्षा नियन्त्रक गौतमलाई २०६८ को सर्वोत्कृष्ट निजामती कर्मचारीको रुपमा छनोट गरिएको थियो । तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले सर्वोत्कृष्ट निजामती कर्मचारीका रुपमा २ लाख रुपैयाँ नगदसहित सम्मानित गरेको १ बर्षपछि गौतमले श्रीमती इन्दिरा ढकाल गौतमलाई लोकसेवा आयोगको परीक्षामा गडबड गरी पास गराएको बिषय सार्वजनिक भएको थियो । गौतमले लोकसेवा परीक्षा दिएकी आफ्नै श्रीमती इन्दिराको उत्तरपुस्तिका जाँचेर विद्यालय निरीक्षक पदको लिखित परीक्षा पास गराएका थिए ।पोखरा काण्ड नघटेको भए गौतमलाई ओलीले गृहमन्त्रालयमै सचिव बनाउन खोजेका थिए । पैसामा अति लोभी सचिव गौतमले कतार प्रहरीको कोटा म्यानपावरहरुलाई मिलाइदिने भनेर म्यानपावरहरुसँग डिल गरेको सूचना पनि प्रहरीमा पुगेको छ ।