- बिटु पासवान
को हुन् युवा ? कसलाई भन्ने युवा ? बृहत नेपाली शब्दकोषका अनुसार युवा भनेका सामान्य रुपमा १६ वर्षमाथि र ४० वर्ष मुनिका पुरुष , तरुण , तन्नेरी भन्ने बुझिन्छ ।
संयुक्त राष्ट्र संघका अनुसार १५ वर्षदेखि २४ वर्ष सम्मका व्यक्तिलाई युवामा समावेश गरेको छ । विश्व विकास प्रतिवेदन सन् २००७ का अनुसार १२ वर्षदेखि २४ वर्ष उमेर समुहका व्यक्तिलाई युवा भनिएको छ । विश्व स्वास्थ्य संगठनले शारीरिक स्वास्थ्यको दृष्टिकोणमा १५ वर्षदेखि २९ वर्षसम्मका व्यक्तिलाई युवामा समावेश गरेको छ । नेपालको राष्ट्रिय युवा नीति २०६६ का अनुसार १६ वर्षदेखि ४० वर्ष उमेर समुहका महिला, पुरुष वा तेस्रोलिंगीलाई युवाका रुपमा परिभाषित गरेको छ ।
नेपाली समाजमा हामीले पढ्ने र सुन्ने गरेका थियौं, युवा भनेका देशका कर्णधार हुन् । परिवर्तनका संवाहक हुन् । उर्जा, आँट र साहस भएका जनशक्ति हुन् आदि इत्यादि । देशका कर्णधार युवा, जोश र उर्जा भएका युवा आज ८ घण्टा परराष्ट्र मन्त्रालयमा पासपोर्टको लाइन बसेर आफ्नो उर्जा र साहसलाई उपयोग गरिरहेका छन् । दैनिक १५०० उर्जाशिल युवा विदेश पलायन भइरहेका छन् । ती युवाहरुको उर्जालाई उपयोग गर्नको लागि देशको नेतृत्व पंक्ति रत्तिभर पनि अग्रसर देखिँदैन ।
नेपाली राजनीतिप्रति वितृष्णा जागेर युवाहरु राजनीतिसँग डिभोर्स गर्दैछन् । जसरी एउटा बुढो रुखको छायाँले त्यस वरपरका स-साना रुखहरु माथि बढ्न नपाएर सुकेर जान्छन् । त्यस्तै नेपाली राजनीतिमा पनि बुढा नेताहरुको छायाँले युवा नेताहरु माथि बढ्न नपाउँदै हराएर जाने गरेका छन् । जसरी एउटा खेलको नियम अनुसार खेलाडी आउट अफ फर्म भएपछि त्यो खेलाडीलाई विश्राम दिएर नयाँलाई मौका दिइन्छ । त्यस्तै नेपाली राजनीतिका यी आउट अफ फर्म खेलाडीलाई विश्राम दिलाएर नयाँ खेलाडीलाई मौका दिनुपर्ने बेला भएको छ ।
नेपालमा भएका परिवर्तनका प्रत्येक आन्दोलनमा युवाहरुको ९० प्रतिशत उपस्थिति रहेको छ । त्यो २००७ सालको होस् वा २०३६ को जनमत संग्रह होस् वा २०४७ को प्रजातान्त्रिक आन्दोलन होस् वा २०६२/६३ सालको जनान्दोलन नै किन नहोस्, प्रत्येक आन्दोलन चाँडै कम क्षतिमै निष्कर्शमा पुगेका छन् । त्यो सबै युवाहरुको उपस्थितिले गर्दानै सम्भव भएको हो । ती सबै परिवर्तनका आन्दोलनपछि देशले स्थायीत्व नपाउँदा र राजनीतिक नेतृत्वमा युवाको सहभागिता नहुँदा युवाहरुमा चरम निरासा छाएको छ । नेपालमा अधिकांश युवा नेता ५० वर्षभन्दा बढी उमेर समुहका छन् । जबकी विकसित राष्ट्र नर्वेको अवस्था हेर्ने हो भने अधिकांश व्यक्तिले महत्वपूर्ण जिम्मेवारी ४० देखि ५० को उमेर समुहमा प्राप्त गर्छन् ।५० देखि ६० वर्षको उमेर पुग्दै गर्दा अवकाश लिई सक्छन् । तर, नेपालका मुख्य राजनीति दलको अवस्था हेर्ने हो भने ४० देखि ५० वर्षको उमेर सम्म युवा विद्यार्थी राजनीतिमा सरिक हुन्छन् । नेपालको राजनीतिक चरित्र हेर्दा नेतृत्वमा पुग्नको लागि २० देखि ३० वर्षसम्म लाग्ने गर्छ जबकी त्यो समयसम्म त्यो व्यक्ति ६० वर्ष पार गरिसकेको हुन्छ ।
नेपालको कुल जनसंख्याको ३८.८ प्रतिशत युवाले ओगटेको छ । जनसंख्याको तुलना गर्दा युवाको प्रतिनिधित्व अहिलेको संसदमा उल्लेखनीय हुनुपर्ने हो तर नेपालको संसदमा युवाको प्रतिनिधित्व जम्मा १४ प्रतिशत मात्र रहेको छ । जुन सन्तोषजनक होइन र ४१ देखि ६० वर्षसम्मका सांसदको संख्या ६८ प्रतिशत रहेको छ । नेपालका प्रधानमन्त्री, मन्त्रीहरुको औसत उमेर नै ६० वर्षभन्दा माथि रहेको छ । विकसित देशहरुको आँकडा हेर्ने हो भने अमेरिकाको राष्ट्रपति हुँदा ओबामा ४० वर्षका थिए , डेविड क्यामरुन बेलायतका प्रधानमन्त्री हुँदा ४३ वर्षका थिए । नेपोलियन बोनापार्ट ३० वर्षमा फ्रान्सका सम्राट भएका थिए । क्युबाका नेता फिडेल क्यास्त्रो ३३ वर्षको उमेरमा राष्ट्रपति भएका थिए ।
हाम्रो घर अगाडिको कुवा फोहोर छ भने त्यो कुवालाई सफा गर्ने तर्फ लाग्ने कि फोहोर छ भनेर हेरेर बस्ने ? नेपाली युवाहरुमा पनि राजनीति फोहोरी खेल हो राजनीति त राम्रो मान्छेले गर्नै हुन्न भन्ने छाप परेको छ । अब नेपालका युवाहरुले त्यो छाप मेट्नै पर्छ र राजनीतिको फोहोरी कुवामा हाम फालेर सफा गर्नै पर्ने भएको छ । नेपाली युवाहरुलाई फोहोर कुवा हेरेर बस्ने छुट अब छैन । युवाले अब पनि हेरेर मात्र बस्ने हो भने देशले यस्तै दुर्गति भोगि नै रहनेछ । देशको राजनीति सफा नगरेर देश कदापि पनि सफा हुन सक्दैन ।
विश्वको उत्कृष्ट मानिएको अमेरिकाको संविधान लागू गर्नको लागि अथक भूमिका खेल्ने अगुवाहरु मुल रुपमा ३० वर्षे, ३६ वर्षे र ४२ वर्षे युवाहरु अलेक्जेन्डर हेमिल्टन, जेम्स मेडिसन थिए । नेपालको संविधानलाई पनि लागू गर्नको लागि युवाहरुले नेतृत्व लिनुपर्ने भएको छ । अहिले देखिएको पहाडदेखि मधेससम्मको समस्या समाधान गर्नको लागि युवाले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बेला भएको छ । युवा पुस्ताले नेताहरुको पुच्छर होइन । दिमाग बन्नुपर्छ । युवाहरुले बुद्धि नबनेसम्म देशले विकास र समृद्धिको बाटो भेट्नेवाला छैन ।
चिनियाँ जनक्रान्तिका महानायक माओत्सेतुङले भनेका थिए, ‘युवाहरु हो, यो संसार तिमीहरुको हो । हुन त हाम्रो पनि हो तर अन्त्यमा विश्लेषण गर्दा तिमीहरुको हो’ माओत्सेतुङको को भनाइलाई ग्रहण गर्दै नेपाली युवाहरुले पनि यो देश हाम्रो हो भन्ने सोचेर देशको विकास र समृद्धिको लागि नेतृत्वादायी भूमिका खेल्नै पर्ने बेला भएको छ ।
Discussion about this post